काठमाडौं । खाना पकाउने एलपीजी ग्यासको आपूर्तिमा समस्या देखिए आपत्कालीन अवस्थामा सहज वितरण गर्न सरकारले सुरक्षा निकायका पेट्रोलियम आउटलेटलाई समेत प्रयोग गर्ने तयारी थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोलियम पदार्थ बिक्री केन्द्रबाट खाना पकाउने ग्याससमेत वितरण गर्न सकिने व्यवस्था मिलाउन लागेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङका अनुसार ग्यासको सम्भावित अभाव वा वितरणमा असहज अवस्था आए त्यसलाई तत्काल व्यवस्थापन गर्न सुरक्षा निकायको संरचना उपयोग गर्ने तयारी गरिएको हो।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले सुरक्षा निकायका आउटलेटबाट ग्यास वितरणको व्यवस्था गर्न सके आपूर्ति प्रणाली थप सहज हुने बताए।
उनका अनुसार अहिले सुरक्षा निकायहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण गरिरहेका छन् । त्यही संरचनालाई विस्तार गर्दै ग्यास बिक्रीका लागि पनि प्रयोग गर्न सकिने गरी तयारी अघि बढाइएको हो ।
सचिव तामाङले पेट्रोल बिक्री गरिरहेका सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक–दुईवटा केन्द्रमा एलपीजी ग्यास बिक्रीको व्यवस्था गर्न सके आपत्कालीन अवस्थामा राज्यलाई तत्काल आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताए।
मन्त्रालयले पछिल्लो समय ग्यासको आपूर्तिमा आउन सक्ने सम्भावित समस्या र अभावलाई समेत ध्यानमा राखेर वैकल्पिक वितरण प्रणाली तयार गर्न लागेको जनाएको छ।
ग्यासको माग बढ्दा वा नियमित वितरण प्रणालीमा कुनै कारणले अवरोध आए उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सुरक्षा निकायको मौजुदा संरचना उपयोग गर्ने अवधारणा अघि सारिएको हो।
सचिव तामाङले ग्यासको सम्भावित अभावलाई मद्देनजर गर्दै आवश्यक प्रबन्ध मिलाउने काम भइरहेको जानकारी दिए। उनका अनुसार आपत्कालीन अवस्थामा मात्रै नभई आपूर्ति व्यवस्थापनलाई थप व्यवस्थित बनाउन पनि वैकल्पिक वितरण संयन्त्र आवश्यक देखिएको छ।
सरकारको तयारीअनुसार सुरक्षा निकायका केही पेट्रोलियम आउटलेटमा ग्यास बिक्रीको व्यवस्था भए आपूर्ति प्रणालीमा समस्या आउँदा त्यस्ता केन्द्रलाई वैकल्पिक वितरण केन्द्रका रूपमा प्रयोग गर्न सकिनेछ।
यसबाट नियमित ग्यास वितरणमा अवरोध आएको अवस्थामा उपभोक्तालाई तत्काल राहत दिन तथा बजारमा ग्यासको अभाव देखिए त्यसको व्यवस्थापन गर्न सरकारी संयन्त्रलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले भने सुरक्षा निकायबाट ग्यास वितरण सुरु हुने निश्चित मिति वा कुन–कुन स्थानका आउटलेटबाट यस्तो सेवा सञ्चालन गर्ने भन्ने विवरण सार्वजनिक गरिसकेको छैन। अहिले आवश्यक पूर्वतयारी र व्यवस्थापनको काम अघि बढाउने चरणमा रहेको सचिव तामाङको भनाइ छ।






