मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १६, शुक्रबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

विशेष

चाडपर्व लक्षित प्रहरीको कडाइ

लमहीमा लापासे चेकजाँच देखि राजमार्ग निगरानीसम्म 

शिवु खनाल अपडेट: १३ पटक पढिएको
Share
चाडपर्व लक्षित प्रहरीको कडाइ

देउखुरी। चाडपर्व नजिकिएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । यात्रुको आवागमन बढेसँगै सडक दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले दाङको लमहीमा सवारी चालक लक्षित विशेष निगरानी तथा ‘लापसे’ चेकजाँच सुरु गरिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमहीमा वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले चाडपर्वका बेला हुनसक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि विशेष निगरानी बढाएका हुन् । बिहीबार लमहीस्थित जैविक विविधता ग्रिनपार्क अगाडि सवारी चालकले लागुऔषध वा मदिरा सेवन गरी सवारी चलाए/नचलाएको परीक्षण गर्न ‘टीएचसी किट’ प्रयोग गरी लापसे चेकजाँच गरिएको छ । पहिलो चरणमा साना तथा ठूला गरी १५ जना सवारी चालकको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्थायी ट्राफिक पोष्ट लमहीका प्रमुख तिर्थ भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वका समयमा लामो दूरीका सवारीसाधन तथा यात्रुको चाप बढ्ने भएकाले चालकको अवस्था, सवारीको अवस्था र सडक सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको छ । मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न नियमित रूपमा यस्ता परीक्षणलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

दुर्घटना रोक्न परीक्षणसँगै सचेतना
लापसे चेकजाँच केवल चालकलाई कारबाही गर्ने उद्देश्यले नभई सडक सुरक्षाप्रति चालक तथा यात्रुलाई सचेत बनाउने अभियानका रूपमा पनि अघि बढाइएको आयोजकले जनाएको छ । वडा प्रहरी कार्यालय लमही, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही र लमही जेसीजको संयुक्त आयोजनामा सुरु गरिएको अभियानमा लमही अस्पतालले प्राविधिक सहयोग गरेको हो । चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने भएकाले चालकले संयमित भएर सवारी चलाउनुपर्ने र मादक तथा लागुऔषध सेवन गरेर सवारी चलाउने कार्य पूर्ण रूपमा रोक्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् । कार्यक्रम संयोजक सम्भु जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केशव शर्माले गर्नुभएको थियो ।

‘चाडपर्व रमाइलोका लागि हो, जोखिमका लागि होइन’
लमही जेसीजका अध्यक्ष जयप्रकाश पौडेलले चाडपर्वको समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘चाडपर्वमा सबै जना सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुग्न सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो । चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउनु हुँदैन। एउटा चालकको सानो लापरबाहीले धेरैको जीवन जोखिममा पर्न सक्छ ।’ उहाँका अनुसार दुर्घटना भएपछि उद्धार र उपचार गर्नुभन्दा दुर्घटना हुनै नदिन पूर्वसावधानी अपनाउनु महत्वपूर्ण हुन्छ । त्यसैले लापसे परीक्षणसँगै सडक सुरक्षा र जिम्मेवार सवारी सञ्चालनबारे जनचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘नियम पालना गरौँ, सुरक्षित यात्रा गरौँ’
वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रमेश तिमिल्सिनाले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर राजमार्गमा निगरानी बढाइएको बताउनुभयो । उहाँले चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने कार्य नगर्न आग्रह गर्नुभयो । सडकमा सबैभन्दा महत्वपूर्ण कुरा मानव जीवन हो । चालकले आफ्नो मात्र होइन, सवारीमा रहेका यात्रु र सडकमा हिँडिरहेका अन्य व्यक्तिको सुरक्षालाई पनि ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो । उहाँका अनुसार चाडपर्वमा यात्रुको संख्या बढ्ने भएकाले सवारीसाधनको अवस्था र चालकको व्यवहारमाथि निगरानी थप कडा बनाइनेछ ।

ग्रिनपार्कको अगाडिबाट सुरु भएको सुरक्षा सन्देश
लमहीको जैविक विविधता ग्रिनपार्क अगाडि गरिएको लापसे परीक्षणले सडक सुरक्षा अभियानलाई समुदायसँग जोड्ने प्रयाससमेत गरेको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले सडक सुरक्षा केवल प्रहरी र ट्राफिक प्रहरीको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो । ग्रिनपार्कमा आउने नागरिकको मनोरञ्जनसँगै उनीहरूको सुरक्षित आवागमन पनि महत्वपूर्ण छ । चाडपर्वमा घरबाट निस्किएका मानिस सुरक्षित रूपमा गन्तव्यमा फर्किन सकून् भन्ने सबैको चाहना हुन्छ । त्यसका लागि चालक, यात्रु र आम नागरिक सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, रिजालले भन्नुभयो । उहाँले लमहीजस्तो व्यस्त राजमार्ग क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

एउटा परीक्षण, धेरैको सुरक्षा
चाडपर्वका बेला सडकमा हुने दुर्घटनाका पछाडि तीव्र गति, चालकको लापरबाही, मादक पदार्थ सेवन, सवारीसाधनको खराब अवस्था तथा ट्राफिक नियमको उल्लंघनजस्ता कारण जोडिन सक्छन् । त्यसैले दुर्घटना भएपछि उद्धारमा जुट्नुभन्दा दुर्घटना हुनुअघि नै जोखिम पहिचान गरी नियन्त्रण गर्नु प्रभावकारी हुने सुरक्षा निकायको बुझाइ छ । लमहीमा सुरु गरिएको लापसे चेकजाँच पनि यही पूर्वसावधानीको एउटा प्रयास हो । पहिलो दिन परीक्षण गरिएका १५ जना चालकको रिपोर्ट नेगेटिभ आउनु सकारात्मक संकेत भए पनि अभियानको वास्तविक उद्देश्य परीक्षणमा कसैलाई दोषी देखाउनु मात्र होइन, ‘मादक तथा लागुऔषध सेवन गरेर सवारी चलाउनु हुँदैन’ भन्ने सन्देश चालक र आम नागरिकसम्म पुर्‍याउनु हो । चाडपर्वको उल्लाससँगै सडकमा बढ्ने भीड र सवारी चापबीच एउटा सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ । त्यसैले प्रहरीको निगरानीसँगै चालकको जिम्मेवारी र यात्रुको सचेतना जोडिन सके लमही हुँदै पूर्व–पश्चिम राजमार्गमा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।

Share

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।