दाङ। दाङको राप्ती गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहलाई स्वागत गरिएको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले शुक्रबार मल्लाहलाई फूलमालासहित स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा कार्यवाहक अध्यक्ष चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। जनताको अपेक्षाअनुसार विकास निर्माण, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले बताएका छन्।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मल्लाहले गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग समन्वय तथा सहकार्य गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्। प्रशासनिक कामलाई चुस्तदुरुस्त बनाउँदै सुशासन र पारदर्शितामा जोड दिने उनले उल्लेख गरेका छन्।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलमान चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष दीपककुमार चौधरी र स्वास्थ्य शाखा प्रमुख नारायण राउतले मल्लाहलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन्।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष सीताराम चौधरी, कार्यपालिका सदस्य तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसअघि राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको प्यूठानको नौबहिनी गाउँपालिकामा सरुवा भएपछि मल्लाह राप्ती आएका हुन्। मल्लाह यसअघि रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत थिए।






