मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १६, शुक्रबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

व्यापार

चाडपर्व नजिकिँदै जाँदा धरानमा खसीबोकाको कारोबार बढ्यो

क्रान्तिपत्र ४ पटक पढिएको
Share
चाडपर्व नजिकिँदै जाँदा धरानमा खसीबोकाको कारोबार बढ्यो

धरान । दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सुनसरीको धरानमा खसीबोकाको कारोबार बढ्न थालेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा कोशी प्रदेशका विभिन्न पहाडी तथा तराई क्षेत्रबाट किसान तथा व्यापारी खसीबोका लिएर आउने क्रम बढेको छ।

बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको नियमित खरिदबिक्री हुँदै आएको छ। विशेषगरी बिहीबार र शुक्रबार खसीबोकाको कारोबारका लागि बजारमा बढी चहलपहल हुने गरेको छ।

धरान–१४ का दलबहादुर कथायले करिब १५ वर्षदेखि खसीबोकाको व्यवसाय गर्दै आएका छन्। उनले आफ्नै घरमा खसीबोका पाल्नुका साथै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्दै आएका छन्। व्यवसायमा कहिले नाफा र कहिले घाटा भए पनि यही आम्दानीबाट घरखर्च चलाउँदै आएको उनले बताएका छन्।

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का पनि २३ वर्षदेखि खसीबोकाको कारोबारमा संलग्न छन्। उनले हरेक साता धरान आएर एकपटकमा करिब १०० देखि १५० वटासम्म खसीबोकाको खरिदबिक्री गर्ने गरेका छन्। धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायतका बजारमा पठाउने गरिएको उनले बताएका छन्।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा बजारबाट हप्तामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्। दसैँ तथा तिहारको समयमा भने यो संख्या बढेर साप्ताहिक १० हजारभन्दा माथि पुग्ने गरेको उनले बताएका छन्।

समितिका अनुसार आर्थिक वर्ष २०८२/८३ मा धरान कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री भएका थिए। त्यसबाट करिब तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको समितिले जनाएको छ। अघिल्लो वर्षको चाडपर्वको अवधिमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस वर्ष पनि खसीबोकाको कारोबार बढ्ने अपेक्षा गरिएको अध्यक्ष भट्टराईले बताएका छन्। उनका अनुसार अघिल्लो वर्षको तुलनामा चालु वर्षमा बजारमा खसीबोकाको कारोबार करिब १५ प्रतिशतले बढिसकेको छ।

धरानको खसीबजारमा कोशी प्रदेशका पहाडी जिल्लासँगै इटहरी, कानेपोखरी, बेलबारीलगायत तराई क्षेत्रबाट समेत किसान तथा व्यापारी आउने गरेका छन्। व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको बजारले पहाडी क्षेत्रका किसानलाई उत्पादन बिक्री गर्ने अवसर दिनुका साथै स्थानीयस्तरमा व्यापार तथा रोजगारी सिर्जनामा समेत सहयोग पुर्‍याएको अध्यक्ष भट्टराईले बताएका छन्।

Share

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।