गोरखा । हिमपातले प्रभावित बनेको लार्केपास पदयात्रा खुलेको छ । असोज ९ गतेपछिका वर्षा र हिमपातपछि मनास्लु क्षेत्रअन्तर्गतको लार्केपास पर्यटकले कट्न सकेका थिएनन् ।
बिहीबार २१ विदेशी र १५ जना नेपाली गाइड तथा सहयोगीले लार्केपास पार गरेर मनाङको भीमथाङ पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का सूचना अधिकारी भुवन ओझाले बताए । ‘पाँच दिनपछि लार्केपास भएर पर्यटक हिँड्न थालेका छन्,’ उनले भने, ‘आज २१ विदेशी र १५ गाइड तथा सहयोगीले लार्केपास पार गरेपछि भोलिबाट सहज बन्छ ।’
लगातारको हिमपातपछि लार्केपासमा ७ फिटसम्म हिउँ जमेको थियो । ‘आज (बिहीबार) बाटो बनाएर पर्यटक हिँडेपछि त्यही बाटो पछ्याउँदै भोलिबाट अन्य पर्यटकलाई पनि हिँड्न सजिलो हुन्छ,’ उनले भने ।
लार्केपास गर्ने ठाउँमा बढी मात्रामा हिउँ जमेको पनि उनले बताए । शुक्रबारका लागि पनि लार्केपासका लागि ३२ जना पर्यटक र नेपाली गाइडसहितको टोली धर्मशाला पुगिसकेको उनले बताए । ‘लार्केपास गर्ने यो मुख्य सिजन हो, मौसम पनि खुलेको छ, हिउँ पनि पग्लँदै गएका छन्, अब सहज तवरले पर्यटकले लार्केपास गर्न सक्नुहुन्छ,’ ओझाले भने ।
मनास्लु क्षेत्र घुम्न आउने पर्यटक ५ हजार १०६ मिटर उचाइको लार्केपास गरेर मनाङको भीमथाङ पुग्ने गरेका छन् । पछिल्लो समय यो पदयात्रा पर्यटकको रोजाइमा पर्ने गरेको छ।
धर्मशालादेखि भीमथाङसम्मको पदमार्गमा अझै हिउँ जमेकाले सचेत बन्न एमक्यापले पर्यटकलाई आग्रह पनि गरेको छ । पाँच दिनयता हिउँ जमेर लार्केपास पदयात्रा प्रभावित बनेपछि पर्यटकहरू मनास्लु क्षेत्रका विभिन्न होटलमा रोकिएका थिए । मौसम खुलेसँगै पर्यटकहरूले पदयात्रा सुरु गरि सकेका छन् ।






