काठमाडौँ । रारा चाउचाउ गुणस्तरहीन प्रमाणित भएको छ । गुणस्तरहीन प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार न्यूनस्तरको पाइएको जनाएको छ ।
विभागका अनुसार ६० ग्रामको ‘तयारी चाउचाउ’, ब्याच नं. REG 01, RARA ब्रान्डको उत्पादन फिर्ता गर्न निर्देशन दिइएको हो ।
उक्त उत्पादन हिमश्री फुड्स प्रालि पोखराले उत्पादन गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को सम्बन्धित प्रावधानअनुसार विभागले उत्पादकलाई उक्त ब्याचका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न/नगराउन आदेश दिएको छ ।
केही समय अघि रामपम चाउचाउ पनि गुणस्तरहीन प्रमाणित भएको थियो । रमपम गुणस्तरहीन प्रमाणित भएको केहि समयपछि रारा चाउचाउ पनि गुणस्तरहीन प्रमाणित भएको छ।




