मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १५, बिहिबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

विशेष

श्रीमान् बाढीमा बेपत्ता, गर्भवती सुस्मिताको आँखामा घर फर्किने पर्खाइ

क्रान्तिपत्र ० प्रतिक्रिया १३९ पटक पढिएको
🔗 सेयर गर्नुहोस्:
श्रीमान् बाढीमा बेपत्ता, गर्भवती सुस्मिताको आँखामा घर फर्किने पर्खाइ

शिवु खनाल
देउखुरी। लमही नगरपालिका वडा नम्बर ३ वनगाउँ निवासी सुस्मिता चौधरी अहिले जीवनकै कठिन समयबाट गुज्रिरहनुभएको छ । गर्भमा हुर्किरहेको सन्तानको भविष्य सम्झिँदै उहाँ श्रीमान् सम्भुजित चौधरी घर फर्किने आशामा दिन बिताइरहनुभएको छ । तर, गत भदौ १० गते रसुवामा आएको बाढीपछि श्रीमान् सम्भुजित बेपत्ता भएपछि सुस्मिताको जीवनमा खुसीभन्दा पीडा र अनिश्चितता बढी छाएको छ। सम्भुजित चौधरी करिब नौ वर्षदेखि रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएको थियो । परिवारको जीविकोपार्जनका लागि लामो समयदेखि घरबाट टाढा रहेर काम गर्दै आउनुभएका उहाँ यसपटक भने घर फर्किने तयारीमा हुनुहुन्थ्यो । भदौ १० गते बिहान ८ बजेर २२ मिनेटमा भाइ उमेश चौधरीसँग सम्भुजितको अन्तिम फोन सम्पर्क भएको थियो । फोनमा उहाँले कम्पनीबाट घर बिदा स्वीकृत भएको जानकारी गराउँदै अब घर आउने तयारीमा रहेको बताउनुभएको थियो ।

‘घर आउन बिदा मिलिसकेको छ’ भन्ने श्रीमानको त्यही खबर सुस्मिताका लागि खुसीको खबर थियो । गर्भवती अवस्थामा श्रीमान् घर फर्किने दिन कुरिरहेकी सुस्मिताले सँगै बसेर आगामी दिनका योजना बनाउने सपना बुन्नुभएको थियो । तर, केही समयमै आएको बाढीको खबरले त्यो खुसीलाई पीडामा बदलिदियो । बाढीपछि सम्भुजित सम्पर्कविहीन हुनुभयो । परिवारका लागि उहाँको अवस्था अझै अनिश्चित छ । एकातिर श्रीमानको अवस्थाबारे कुनै निश्चित खबर नआउनु र अर्कोतर्फ गर्भमा रहेको सन्तानको जिम्मेवारीले सुस्मितामाथि थप पीडा थपिएको छ ।

रसुवामा बेपत्ता तीन जनाका परिवारलाई लमही खानेपानी संस्थाको आर्थिक सहयोग
रसुवामा बेपत्ता भएका लमहीका तीन जनाका परिवारलाई लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लमहीले आर्थिक सहयोग गरेको छ । रसुवामा कार्यरत रहेका बेला बेपत्ता भएका लमही नगरपालिका वडा नम्बर ४ निवासी शरद कुमार चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी सिवानी चौधरी र लमही नगरपालिका वडा नम्बर ३ वनगाउँ निवासी सम्भुजित चौधरीका परिवारलाई संस्थाले आर्थिक सहयोग गरेको हो । संस्थाका सचिव बसन्त आचार्यका अनुसार तीनवटै परिवारलाई संस्थाको तर्फबाट जनही २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँ तथा संस्थाका कार्यसमिति र सल्लाहकारबाट संकलित १३ हजार ५ सय रुपैयाँ गरी कुल ८८ हजार ५ सय रुपैयाँ सहयोग गरिएको हो ।

बेपत्ता भएका परिवारजन अहिले आफन्तको खोजी, उद्धार तथा आवश्यक प्रक्रियाका कारण मानसिक र आर्थिक दबाबमा रहेकाले दुःखको घडीमा परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनम कुमार पौडेलले विपद्का बेला पीडित परिवारको साथमा उभिनु सामाजिक संस्थाको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘आफ्नो समुदायका उपभोक्ता सदस्य विपद्मा पर्दा हामीले सकेको सहयोग गर्नु मानवीय दायित्व हो । रकम ठूलो–सानोभन्दा पनि पीडाको समयमा परिवारलाई साथ र भरोसा दिन सकियोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ । बेपत्ता भएका सबैको सकुशल खोजी तथा उद्धार होस् भन्ने हाम्रो कामना छ ।’ अध्यक्ष पौडेलले विपद्को समयमा पीडित परिवारलाई आवश्यक सहयोगका लागि स्थानीय तह, संघसंस्था तथा समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो ।

रसुवामा आएको विपद्का क्रममा लमहीका केही व्यक्तिहरू बेपत्ता भएपछि उनीहरूका परिवारमा चिन्ता र पीडा बढेको छ । यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा समुदायबाट परिवारलाई सहयोग गर्ने क्रमसमेत अघि बढिरहेको छ ।

‘घर आउने खबरले खुसी भएकी थिएँ, तर…’सम्भुजितका बुवा तुलसीराम चौधरीका लागि पनि छोराको अवस्था निकै पीडादायी बनेको छ । वर्षौँदेखि परिवारको सहारा बनेर काम गर्दै आएको छोरा घर फर्किने आशामा रहेका बेला बाढीले बेपत्ता बनाएपछि परिवार शोक र अन्योलमा परेको उहाँ बताउनुहुन्छ । सुस्मिताको गर्भावस्थाले परिवारको चिन्ता झनै बढाएको छ । श्रीमानको खोजी र परिवारको भविष्यका विषयमा उहाँहरू निरन्तर चिन्तित हुनुहुन्छ । यस्तो अवस्थामा वनगाउँका स्थानीय बासिन्दा तथा समाजसेवीहरूले चौधरी परिवारलाई आर्थिक सहयोग गरेका छन् । स्थानीयबाट संकलित ६५ हजार २ सय ५ रुपैयाँ सुस्मिता चौधरीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी स्थानीय समाजसेवी काशीराम डाँगीले ५ हजार ५ सय ५० रुपैयाँ, बसन्त शर्मा ‘विक्रान्त’ले ३ हजार ३ सय रुपैयाँ र भीम वलीले २ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ ।स्थानीय तथा समाजसेवीहरूले सुस्मिताको गर्भावस्था र परिवारको कठिन अवस्थालाई ध्यानमा राख्दै सहयोग गरेका हुन् । सम्भुजित घर फर्किने तयारीमा हुनुहुन्थ्यो । परिवारले पनि उहाँको स्वागतका लागि प्रतीक्षा गरिरहेको थियो । तर, घर फर्किने खबर दिएको केही घण्टामै आएको बाढीले परिवारको त्यो खुसी खोस्यो ।

अहिले सुस्मिताको आँखामा एउटै प्रश्न छ–‘श्रीमान् कहिले घर फर्किनुहुन्छ?’ गर्भमा हुर्किरहेको सन्तान जन्मिएपछि बाबुको अनुहार देखाउन पाउने कि नपाउने भन्ने अनिश्चितताले सुस्मिताको पीडा झनै गहिरिएको छ । परिवार भने सम्भुजितको खोजी जारी रहने र कुनै दिन उहाँ सुरक्षित रूपमा घर फर्किने आशामा छ ।

रसुवाको बाढीमा लमहीका चार जना बेपत्ता
रसुवामा गत भदौ १० गते आएको बाढीका कारण लमही नगरपालिकाका चार जना बेपत्ता भएका छन् । बाढीपछि लमही नगरपालिका वडा नम्बर ३ निवासी सम्भूजीत चौधरी, लमही नगरपालिका वडा नम्बर ४ निवासी सरदकुमार चौधरी र सोही वडा निवासी सुकदेव चौधरी र लमही नगरपालिका वडा नम्बर ६ निवासी सिवानी चौधरी बेपत्ता भएका हुन् । सम्भूजीत मैलुङ हाइड्रोपावरमा, सरदकुमार र सुकदेव त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए भने सिवानी रसुवामा ज्याला मजदुरी गर्दै आउनुभएको थियो । बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेको परिवारजनले बताएका छन्।

🔗 सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।