काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका ७५३ वटै पालिकामा ‘पालिका अभियान’ सञ्चालन गर्ने भएको छ। संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका पालिकामा पुग्ने पार्टीले जनाएको छ।
रास्वपाका अनुसार अभियानको उद्देश्य नागरिकका कुरा सुन्ने, स्थानीय तहको अवस्था बुझ्ने तथा पार्टीका योजना र आगामी कार्यक्रमबारे जानकारी गराउने हो। साथै, सरकार गठन भएको ६ महिनामा भएका काम र आगामी योजनाबारे समेत नागरिकलाई जानकारी गराइने पार्टीले जनाएको छ।
स्थानीय तह निर्वाचनको तयारीका रूपमा अघि सारिएको यो अभियानले रास्वपाको संगठन विस्तार र स्थानीय तहमा उपस्थितिलाई समेत प्राथमिकता दिएको देखिन्छ। यसअघि पनि पार्टीले स्थानीय तहमा संगठन विस्तार गर्दै विभिन्न पालिकामा नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ।
तर, रास्वपाले आफूलाई परम्परागत दलभन्दा फरक र वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको सन्दर्भमा चुनावी तयारीकै समयमा देशभरका पालिकामा केन्द्रित अभियान सञ्चालन गर्न लागेको विषयले राजनीतिक बहससमेत जन्माएको छ।
विशेषगरी, पुराना दलहरू चुनावका बेला मात्रै गाउँ पुग्ने गरेको आरोप लगाउँदै आएको रास्वपाले पनि चुनाव लक्षित समयमा सांसद र केन्द्रीय सदस्यलाई देशभर परिचालन गर्नुलाई कतिपयले उसको विगतको राजनीतिक दाबी र अहिलेको अभ्यासबीच तुलना गर्ने विषयका रूपमा हेर्न थालेका छन्।
यद्यपि, रास्वपाले भने यस अभियानलाई चुनावी तयारीमा मात्र सीमित नराखी नागरिकसँग प्रत्यक्ष संवाद, स्थानीय अवस्था बुझ्ने तथा सरकारका कामबारे जानकारी गराउने अभियानका रूपमा व्याख्या गरेको छ।





